निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ: मन्त्री पुन

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न नेपालका ऊर्जा उद्यमीलाई आग्रह गरेका छन्।

मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्नेसमेत बताए। विदेशी लगानीकर्तासँग काम गर्दा घरेलु लगानीकर्ताले दक्षता वृद्धि, प्रविधिमा विकास तथा व्यापारिक ज्ञान हासिल गर्न सक्ने विश्वास मन्त्री पुनको थियो।

“जलविद्युत्को क्षेत्रमा लाग्नुभएका स्वदेशी लगानीकर्तालाई मेरो यो आग्रह छ, तपाईँहरू विदेशी लगानीकर्तासँग मिलेर काम गर्नुस्,”, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)द्वारा आज आयोजित कार्यक्रममा मन्त्री पुनले भने, “विदेशी लगानीकर्तासँग काम गर्दा क्षमता, प्रविधि र अनुभवको आदान/प्रदान हुन्छ।”

मन्त्री पुनले वर्तमान सरकार र ऊर्जा मन्त्रालयको नेतृत्वले जलविद्युत् क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै उनले निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार रहेको दोहोर्‍याए।

निजी क्षेत्रका सबै आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौतामार्फत खरिद गर्ने प्रतिबद्धता मन्त्री पुनको भनाइ थियो। कोभिड-१९ महाकारीका कारण अधिकांश विकास आयोजनाको निर्माण कार्य ठप्प हुँदा पनि जलविद्युत् आयोजना निर्माणका काम सुचारु गर्न मन्त्रालयले सहजीकरण गरेको उनले स्मरण गरे।

रासस

प्रतिक्रिया दिनुहोस्