बाढीपीडित भेट्न अछाम पुगे गृहमन्त्री

कैलाली। गत मंगलबार राति करिब १२ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अझै फेला परेका छैनन्।

बाढीपीडितबारे जानकारी लिन सरकारका गृहमन्त्री रामबहादुर थापा 'बादल' ले आज पीडित परिवारहरूसँग भेटघाट गरेका छन्।

काठमाडौंबाट सुर्खेत पुगेका गृहमन्त्री थापा त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् अछाम पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेसकुमार सिंहले बताए।

पीडित परिवारलाई भेटी सरकारको तर्फबाट उचित राहत तथा हराइरहेकाहरूको खोजी कार्यमा कुनै कमी हुन नदिने बताए।

गृहमन्त्री थापा मौसममा आएकाे खराबीका कारण अछामकै साँफेमा छन्।

बाढीमा हराइरहेकामध्ये फेला परेका थप तीनजनाको समेत सनाखत भएको छ।

सनाखत हुनेमा रामारोशन गाउँपालिका-५ कै बबिता बुढा साउद, अमर साउद र ननसरा शाह रहेको एसएसपी सिंहले बताए।

यसअघि फेला परेका रामारोशन गाउँपालिका-५, सैनीबजारका नवीन साउद, चन्द्र साउद र गौरी शाहको सनाखत भएकाे थियाे।

हराइरहेकाहरूको उद्धार तथा खोजका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय खोजी कार्यमा लागिरहेका छन्।