काँकडभिट्टा-इनरूवा रेलमार्गको ठेक्का रोक्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा-इनरूवा रेलमार्ग निर्माणको ठेक्का रोक्न माग गरेका छन्।

रेल विभागले हचुवाको भरमा ठेक्का लगाएको उनको आरोप छ।

नेता पौडेलले ठेक्का रोकेर छानविन गर्न संसदको सार्वजनिक लेखा समिति, विकास समिति, सरकार र अख्यितार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन्।

“आवश्यक गृहकार्य र तयारीविना ठेक्कापट्टाको हतारो गर्नु अनुचित हो”, उनले भनेका छन्, “सार्वजनिक खरिद ऐनको ८, ९, १० र १५ तथा खरिद नियमावली (६) विपरीत रेलमार्ग निर्माणका लागि खुल्ला प्रतिस्पर्धाविना निश्चित ठेकेदरालाई ठेक्का दिनु गलत छ।”

सरकारले पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा–इनरूवा खण्डको निर्माणका लागि ३५ अर्ब रूपैयाँ बिनियोजन गरेको छ। उक्त खण्डमा रेलमार्ग निर्माणको प्रक्रिया रेल विभागले अगाडि बढाएको छ।

तर, रेलमार्ग क्षेत्रमा जग्गा पर्ने स्थानीयले भने जग्गाको मुआब्जा वितरण नगरी निर्माणका लागि प्रक्रिया अगाडि बढाएको भन्दै विरोध गर्दै आएका छन्।

कांग्रेस नेता पौडेलले पनि रेलमार्गमा पर्ने बजारको व्यवस्थापन तथा उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जासमेत नदिइ रेलमार्ग लाग्नु गलत भएको बताएका छन्।

उनले निश्चित ठेकेदारलाई योग्य बनाएर ठेक्का दिनुले सरकारले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्