देशमा बाढीपहिरोबाट भएको क्षतिप्रति उपराष्ट्रपति पुनद्वारा दु:ख व्यक्त

काठमाडौं। उपराष्ट्रति नन्दबहादुर पुनले बुधबार राति बागलुङको ढोरपाटन नगरपालिका–३ मोबाङमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले शुक्रबार वक्तव्य जारी गरेर बाढीपहिरोले बागलुङको मोबाङ, अछामको सैनीबजारलगायत विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन्।

‘‘बाढीपहिरोका कारण ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु,’’ उनले वक्तव्यमा भनेका छन्, ‘‘उहाँहरूका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।’’

उपराष्ट्रपति पुनले बागलुङको ढोरपाटनमा बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको अवस्थाको बारेमा चिन्ता व्यक्त गर्दै बेपत्ताहरूको खोजमा संघीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका प्रयासलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनले बाढीपहिरोबाट विस्थापितहरूका लागि पर्याप्त राहत र घाइतेहरूको उचित उपचारका लागि सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

‘‘यस वर्षको वर्षायाममा बाढीपहिरो, डुबानका कारण सयौं नेपाली दिदीबहिनी तथा दाजुभाइहरुले जीवन गुमाउनुभएको छ। सयौं परिवारले आफ्नो घर, जग्गा गुमाउनुभएको छ र विस्थापित हुनुभएको छ,’’ उपराष्ट्रपतिको वक्तव्यमा भनिएको छ, ‘‘म बाढीपहिरोका कारण जीवन गुमाउनु भएका परिवारका लागि उचित सहायताको व्यवस्था गर्न, अभिभावक गुमाएका बालबालिकाको शिक्षा लगायतको जिम्मेवारी लिन, घरबिहिन भएकाहरुको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’’

उपराष्ट्रपति पुनले जोखिममा रहेका बस्तीहरूको सुरक्षित स्थानमा स्थानान्तरण र व्यवस्थित बस्ती निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै जोखिमपूर्ण बस्तीमा रहेका परिवारलाई पनि सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्