गुल्मी घटनाका सम्बन्धमा कांग्रेसले गृहमन्त्रीसँग स्पष्टिकरण माग्यो
<p>काठमाडौं । नेपाली कांग्रेसले गुल्मीका पार्टी सभापति भुवन श्रेष्ठसहितलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको स्पष्टिकरण मागेको छ। घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओली समेतको कांग्रेसले ध्यानाकर्षण गराएको छ।</p>
<p>जिल्ला प्रशासन कार्यालय गुल्मीमा आइतबार ज्ञापनपत्र बुझाउन जाने क्रममा प्रहरीले दुर्व्यवहार गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमति, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत्त अधिकार प्रयोग गर्दा प्रहरीबाट भएको व्यवहारलाई गम्भीरतापूर्वक लिएको बताए।</p>
<p>गुल्मी घटनाको यथार्थ छानबिन गरेर घटनाका दोषीलाई कारवाही गर्न पनि उनले माग गरे। आइतबार दिउँसो प्रहरीले ज्ञापनपत्र बुझाउन भन्दै गएको सभापति श्रेष्ठ नेतृत्वको टोलीलाई रोकेका थिए। सो क्रममा धकेलाधकेल भएको प्रहरीले जनाएको छ।</p>
<p>तर, कांग्रेसले भने सभापति श्रेष्ठसहित प्रदेश क्षेत्रीय सभापति पूर्ण केसी लगायत घाइते भएको दाबी गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्