भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्त्व राख्छ : सभामुख
सिन्धुपाल्चाेक। सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताएका छन्।

बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा उनले सो कुरा बताएका हुन्।

उक्त स्मृति उद्यानका संरक्षकसमेत रहेका सभामुख सापकोटाले राष्ट्रिय गौरवको आयोजना स्मृति उद्यान बनाउन कानूनी जटिलता हटाएर पूरा गरी छाड्ने प्रतिबद्वता जनाए।

“यो राष्ट्रिय गौरवको आयोजना हो, यसले अन्तर्राष्ट्रिय महत्व राख्छ”, सभामुख सापकोटाले भने, “यसकारण बैठकमा मेरो उपस्थिति आफैँमा अर्थपूर्ण छ।”

समस्या निराकरणका लागि जोखिम आवश्यकता परे पनि दिन आफू तयार भएरै आएको उनले बताए। राम्रो काम गर्नका लागि कानुनी जटिलतामात्रै प्रधान नरहेको उनको जिकिर थियो।

देशकै स्मरणयोग्य बनाउनका लागि केही क्षति भए पनि ब्यहोर्न तयार हुनुपर्नेमा उनले जोड दिए।

स्मृति उद्यानको तत्कालीन वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङद्वारा २०७३ वैशाख २९ गते शिलान्यास गरिएको थियो।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ दारेगौँडा पानी ट्याङ्कीमा भगवती सामुदायिक वन क्षेत्रको ४२ हजार १०८ वर्गमिटर क्षेत्रमा बन्ने गरी शिलान्यास भएको हो।

निर्माण समन्वय र सहजीकरण समिति गठनसमेत भएर निर्माण सुरु भएको भनिएको उद्यान पाँच वर्ष बितिसक्दासमेत योजनामै थन्किएको छ।

४९ करोड ९३ लाख १६ हजार ५२४ रूपैयाँको लागत अनुमान र उद्यानको डीपीआरसमेत सम्पन्न गरी पुनःनिर्माण प्राधिकरणबाट एक करोड रूपैयाँ स्वीकृत भई घेराबार लगाइएको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्