सीमा विवाद समाधान उपयुक्त अवसर: नेकपा अध्यक्ष दाहाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारतसँगको सीमा सम्बन्धी समस्या समाधानलाई अहिले अवसरको रुपमा लिनुपर्ने बताएका छन्।

नेपाल-चीन मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले झट्ट हेर्दा चुनौतीजस्तो देखिए पनि भौगोलिक अखण्डता र राष्ट्रियताको पक्षमा सबै पक्ष एकै ठाउँमा उभिएको ऐतिहासिक र असाधारण परिस्थिति बनेकोले नेपाल-भारतबीच थाँती रहेका विषयलाई टुंग्याउन सहज भएको बताएका छन्।

"उत्तेजना र आवेगमा हैन विवेकशील बनेर कुटनीतिक र राजनीतिक तवरबाट वार्ता र संवादको माध्यमबाट भारतसँगको सीमा विवाद समाधान गर्नुपर्छ" नेकपा अध्यक्ष दाहालले भने।

अध्यक्ष दाहालले नेपाल-भारत-चीनको साझेदारी रणनीतिलाई 'टू प्लस वान' को रुपमा गरिएको व्याख्याले आफू सन्तुष्ट नभएको बताएका छन्।

"नेपाल दुई छिमेकी मुलुकसँग स्वतन्त्र, समानता र सहअस्तित्वमा सम्बन्ध कायम रहोस् भन्ने चाहन्छ," दाहालले भने, "हामी ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ स्वामित्वसहितको साझेदारीको भूमिकामा रहन चाहन्छौं।"

प्रतिक्रिया दिनुहोस्