प्रचण्डलाई बादलको जवाफ- पार्टी एकता जोगाउन लागेको छु, अहिले निर्णय लिन्न

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत एवं गृहमन्त्री रामबहादुर थापा बादललाई नेता तथा कार्यकर्ताले पार्टी संघर्षका बारेमा दुई थरी सुझाव दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहने कि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट रहने भन्ने बारेमा कार्यकर्ताहरुले थापालाई दुई थरी सुझाव दिएको उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी गराए।

पुल्चोकस्थित मन्त्री क्वाटरमा आफू निकट निकट स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरुसँगको भेटमा बादललाई यस्तो सुझाव आएको थियो।

“केही सदस्यले प्रधानमन्त्रीसँग मिलेर जान सुझाव दिएका छन् भने कसैले प्रचण्ड-नेपालसँग मिल्न सुझाव दिएका छन,” भट्टराईले भने, “तर, गृहमन्त्रीज्यूले अन्तिम समयसम्म पार्टी एकता जोगाउनका लागि पहल गर्ने भन्दै कुनै कित्तामा नलाग्ने प्रष्ट पार्नुभएको छ।”

उनका अनुसार गृहमन्त्री थापा अन्तिमसम्म पार्टी एकता जोगाउन सक्रिय रहने अडानमा छन्। आफूलाई सहयोग गर्न भन्दै भेटन आएका प्रचण्डलाई पनि गृहमन्त्री थापाले सोही सुझाव दिएर पठाएका छन्।

“म पनि पार्टी एकता जोगाउन लागिपरेको छु। तपाई पनि त्यसका लागि मेहनत गर्नुहोस,” भट्टराईका अनुसार प्रचण्डलाई थापाको जवाफ थियो, “पार्टी विभाजनतर्फ जाने भुमिका नखेल्नुहोस्।”

ओली-प्रचण्ड मिल्नुको विकल्प नभएको भन्दै पार्टी विभाजनमा नलाग्न उनले प्रचण्डलाई सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्