'महाधिवेसनवाट अध्यक्ष र चुनाववाट प्रधानमन्त्री हस्तान्तरण गर्छु भन्दा नि सुख दिएनन्'
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेसनवाट पार्टी अध्यक्ष र निर्वाचनवाट सरकारको नेतृत्व हस्तान्तरण गर्न खोज्दा आफ्नै पार्टीका नेताहरुले नदिएको गुनासो गरेका छन्।

देशवासीको नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरुका कारण सरकार सञ्चालन गर्न अप्ठयारो भएको भन्दै प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु पर्नाको बाध्यता प्रष्ट पारे।

“पार्टीको महाधिवेसन पछि अध्यक्ष र आम निर्वाचनमार्फत सरकारको नेतृत्व हस्तान्तरण गर्छु भनेर पटक पटक भनेँ, तर त्यो अवसर दिइएन,” नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति गुनासो गर्दै प्रथम अध्यक्ष ओलीले सम्वोधनमा भनेँ, “अस्ति ४ गते पनि खुमलटारमा पुगेर महाधिवेसन र निर्वाचन पछि नेतृत्व हस्तान्तरण गर्छु भनेर भनेँ। महाधिवेसन गर्न नसक्ने भए विशेष महाधिवेसनवाट नेतृत्व हस्तान्तरण गर्छु भन्दा पनि मान्नु भएन।”

प्रधानमन्त्री ओलीका अनुसार जस्केला र भागबन्डावाट नेतृत्व लिन बानी परेका नेताका कारण नेकपमा समस्या देखा परेको हो।

महाधिवेसनवाट नेतृत्व हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि आफु माथी राजनीतिक प्रस्तावको नाममा अभियोग पत्र दर्ता गराउने काम गरिएको प्रधानमन्त्रीको गुनासो छ।

“महाधिवेसनवाट नेतृत्व लिनुको सट्टा मेरो राजनीतिक चरित्र हत्या गर्ने गरी आरोप पत्र पेश गरियो। पार्टीको लोगो र कार्यालयको दुरुपयोग गरी तलसम्म बाँडियो। भित्रभित्रै अविश्वासको प्रस्तावको तयारी गर्नु भयो,” ओलीले भने, “संसदीय दलका नेतालाई थाहा नै नदिई विशेष महाधिवेसन बोलाउन हस्ताक्षर गरियो।”

आफूमाथि तमाम षणयन्त्र गरिए पनि कार्यकारी अध्यक्ष प्रचण्डको निवासमा पुगेर आरोप फिर्ता लिन तथा विशेष महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गरेर जान आग्रह गर्दा पनि प्रचण्डले अस्विकार गरेको प्रधानमन्त्रीले गुनासो गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्