राजनीतिक समस्या समाधान भए पनि आर्थिक समृद्धिको युग सुरु भएन : राप्रपा अध्यक्ष लोहनी
कपिलवस्तु। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक समस्या समाधान भए आर्थिक समृद्धिको युग सुरु हुन्छ भन्ने दावी पूर्ण रूपमा गलत साबित भएको बताएका छन्।

“राजनीति मुद्दा समाधान भयो, अब आर्थिक समृद्धिको युग आरम्भ हुन्छ भनेर तीन वर्षअगाडि भनिएको थियो तर वर्तमान अवस्था त्यसको ठीक विपरीत छ,” अध्यक्ष लोहनीले भने।

शनिबार राप्रपा कपिलवस्तुले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले देशको राजनीति अस्थिर र अन्योलपूर्ण भएको भन्दै चिन्ता पनि व्यक्त गरे।

भनाइमा जनताको हितको नारा भए पनि सत्ताधारी पार्टीको भारदारी वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रित हुन थालेको उनको आरोप छ।

“भनाइमा राष्ट्रियताको कुरा छ, तर गराइ लम्पसारवादउन्मुख छ। भनाइ भ्रष्टाचारविरोधी छ, व्यवहार भ्रष्टाचारलाई संरक्षण गर्ने छ। नारा निष्पक्ष प्रशासनको छ, गराइ हरेक तहमा पार्टीगत भागबण्डा हावी छ,” अध्यक्ष लोहनीले भने, “संविधान संरक्षणको आदर्श छाँटिन्छ तर ऐनकानुन र संविधान सत्ता स्वार्थको हतियार मात्र भएको छ। नारा प्रजातन्त्रको छ, व्यवहार अधिनायकवाद र सर्वसत्तावादउन्मुख रहेको छ।”

राप्रपाले बोकेको अजेण्डा, संविधानभित्रको राजसंस्था र सर्वधर्म समभावसहित नेपाली पहिचान कायम राख्ने हिन्दू राष्ट्रको साथर्कता पहिलेभन्दा पनि जरुरी भएको उनले बताए।

संविधानमा कतै नभएको धारा प्रयोग गरी जनप्रतिनिधिमूलक संस्था विघटन गरे पनि यसको अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने उनले बताए। उक्त फैसलाले राजनीतिक रूपमा बन्धक रहेको अवस्थावाट मुलुकले पार पाउनेसमेत लोहनीले बताए।

सभालाई राप्रपाका केन्द्रीय नेताहरू ध्रुव रायमाझी, कृष्ण चौधरी, इद्रिस मुसलमान, खनिज फतेम, जनक पाठकलगायतले सम्बोधन गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्