नेकपा केन्द्रीय कमिटी बैठक : आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा आजदेखि समूहगत छलफल हुँदैछ।

१५ माघदेखि राष्ट्रिय सभागृहमा शुरु भएको बैठकमा प्रतिवेदनउपर छलफल गर्न सदस्यहरूलाई १५ वटा समूहमा विभाजन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

उक्त १५ समूहमा सचिवालय सदस्य छैनन् । समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने छन्।

अध्यक्षद्वयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक र महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन छलफलपछि १७-१८ माघमा समूहका नेताले आ-आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि तय गरिएको छ।

कार्यतालिका अनुसार समूहगत छलफलमा उठेका विषयमा १९ माघमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गरिने छ।

केन्द्रीय कमिटी बैठकले सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयउपर छलफल गर्ने र अनुमोदन गर्ने छ।

आज दोस्रो दिन पुनः ११ बजेदेखि बैठक बस्ने छ।

सातवटै प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेश कमिटीको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची भए पनि समय अभावका कारण पहिलो दिन त्यो हुन सकेन।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिएर बैठक शुरु गरेका थिए।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणबाट गठित नेकपाको केन्द्रीय कमिटी बैठक २१ महीनापछि बसेको हो।