दक्षिण एसियाली आर्चरी महासंघको अध्यक्षमा गुरुङ

काठमाडौं। दक्षिण एसियाली आर्चरी महासंघ (साफ) को अध्यक्षमा दीपकराज गुरुङ चयन भएका छन्।

बंगलादेशमा गत हप्ता बसेको महासंघको बोर्ड बैठकले गुरुङलाई चार वर्षे कार्षयकालको लागि अध्यक्ष बनाएको छ। महासंघले बुधबार विज्ञप्ति निकाल्दै गुरुङलाई अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख गरेको छ।

साफको संस्थापक सदस्य रहेका गुरुङ महासंघमा यसअघि वरिष्ठ उपाध्यक्ष थिए। ९ अक्टुबरमा अध्यक्ष चयन भएका गुरुङको कार्यकाल ८ अक्टुबर २०२३ सम्म रहनेछ।

साफका महासचिव एवं विश्व आर्चरी एसियाका प्रथम उपाध्यक्ष तथा बंगलादेश ओलम्पिक कमिटीका कोषाध्यक्ष काजी राजीव उद्दिन एहमेद चपोलले गुरुङको नेतृत्व र निर्देशनमा दक्षिण एसियाली आर्चरीको रणनीति र गतिविधिको विकास हुने विश्वास व्यक्त गरेका छन्।

आफ्नो लागि अध्यक्षको पद अवसर र चुनौती दुवै भएको बताउँदै अध्यक्ष गुरुङले देखापढीसँग भने, “आर्चरीमा हामीले राष्ट्रिय मात्र नभई क्षेत्रीय स्तरमा गरेको कामको पनि मूल्यांकन भएको जस्तो लाग्छ, यसमा म मात्र नभएर मेरो साथीहरु सबैको साथ छ।”

नेपालमा दक्षिण एसियाली आर्चरी च्याम्पियनसिप हुन नसकिरहेको बेला अब नेपालमा ल्याउन पहल गर्ने उनको भनाइ छ। २०२० को ओलम्पिकको लागि नेपाली खेलाडीलाई क्वालिफाइङ राउण्डमा समावेश गर्ने गुरुङले बताएका छन्।

"साफको पाँचौ संस्करण नेपालमा गर्नेछौं, २०२४ मा एसियाली च्याम्पियनसिप पनि नेपालमै आयोजना गर्ने लक्ष्य छ। यसको लागि साथीहरुसँग कुरा पनि गरिसकेको छु।” गुरुङले भने।

गुरुङले नेपाली खेलाडीहरुलाई अझ बलियो बनाएर अगाडि बढाउने बताएका छन्। सन् २००४ मा स्थापनाको छोटो समयमै नेपाली आर्चरीले २०१६ को रियो ओलम्पिक खेलेको थियो।

अब ओलम्पिक खेल्न झन् चुनौती बढेको बताउँदै अध्यक्ष गुरुङले २०२४ मा छनोट भएर पेरिसमा हुने ओलम्पिकमा पदक हासिल गर्ने चुनौतीका साथ तयारी गर्ने संकल्प गरे।

प्रतिक्रिया दिनुहोस्