डब्लुसिएल: ज्योती पाण्डेको अर्धशतकमा विराटनगर टाइटन्स विजयी

काठमाडौं। ज्योती पाण्डेले अर्तशतकीय इनिङ्स खेलेपछि विराटनगर टाइटन्सले वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) टि २० क्रिकेटमा जित हात पारेको छ।

आज भएको दोस्रो खेलमा विराटनगरले ललितपुर फाल्कन्सलाई ४ विकेटले पराजित गरेको हो। ओपनर ज्योतीले ६३ रन बनाएपछि विराटनगरले १२३ रनको लक्ष्य १६ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो। ज्योतीले पहिलो विकेटका लागि सोनु खड्कासँग ८४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेकी थिइन्।

तर, अनावश्यक रुपमा रनआउट र नियमित रुपमा विकेट गुमाउँदा विराटनगरले थप ४० रन जोड्दा ६ विकेट गुमाएको हो। रन लिने क्रममा सोनु १०औं ओभरको पहिलो बलमा रनआउट भइन्। सोनुले २४ रन जोडिन्। अर्को ओभरको पहिलो बलमा लक्ष्मी चौधरी (०) पनि रन लिने चक्करमा रनआउट भइन्। त्यसपछि १३औं ओभरमा ज्योती ६५ रन बनाएर आउट भइन्। उनले ४३ बल खेल्दै १० चौका र १ छ्क्का प्रहार गरिन्। त्यही ओभरको अन्तिम बलमा कप्तान सरीता मगर ४ रनमा आउट भइन्।

पाँचौ नम्बरमा ब्याटिङ गरेका अस्मिता कर्माचार्यले इनिङ्स सम्हाल्दै जित दिलाइन्। उनले नटआउट १२ रन बनाइन्। डोली भट्ट २ र यसोदा विष्ट १ रन बनाएर आउट भइन्। ललितपुरकी सम्झना खड्काले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन्।

करुणा भण्डारीले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिइन्। त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो। स्कोर ४७ हुँदा शुरुवाती ५ विकेट गुमाएपनि ममत चौधरी र करुणा भण्डारीले छैटौँ विकेटका लागि ४० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए।

ममताले सर्वाधिक २८ रन बनाउँदा करुणाले २१ रन जोडिन्। यस्तै कृति सेन र सम्झना खड्काले १३-१३ रन जोडे। दुवै खेलाडी नटआउट रहे। टप र मिडल अर्डरल छिटै आउट हुँदा लोअर अर्डरका खेलाडीले ललितपुरको इनिङ्स सम्हालेका थिए। विराटनगरले उत्कृष्ट फिल्डिङ गर्दा ललितपुरका पाँच खेलाडी रनआउट भएका थिए। बाँकी दुई विकेट सवनम राई र बरती बिडारीले लिए।

प्रतिक्रिया दिनुहोस्