क्यान बैठक: चारवटा समिति गठन, पारसकाे राजीनामाबारे निर्णय भएन
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) आईसीसीबाट निलम्बन फुकुवा भएपछि आज बसेको पहिलो कार्यसमिति बैठकले विभिन्न निर्णयहरू गरेको छ।

मूलपानीस्थित क्यानको केन्द्रीय कार्यलयमा बसेको बैठकले चारवटा समिति गठन गर्नेलगायत निर्णय गरेको क्यान सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

बैठकले प्राविधिक, आर्थिक, प्रतियोगिता र मिडिया कमिटी गठन गर्ने निर्णय गरेकाे छ।

प्राविधिक समितिमा संजयराज सिंह, आर्थिक समितिमा कोषाध्यक्ष रोशन सिंह, प्रतियोगिता समितिमा प्रशान्त मल्ल र मिडिया समितिमा सचिव अशोक प्याकुरेललाई चयन गरिएकाे छ।

सचिव प्याकुरेललाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ।

यस्तै निलम्बन फुकुवा भएकोमा आईसीसी, नेपाल सरकार,राष्ट्रिय खेलकुद परिषद्, सल्लाहकार समिति, स्वतन्त्र कमिटी र सम्पूर्ण स्टेक होल्डरलाई धन्यवाद ज्ञापन गरेको सचिव प्याकुरेलकाे भनाइ छ।

यस्तै अहिलेको जल्दोबल्दो विषय राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काको राजीनामाको विषयमा भने कुनै निर्णय हुन सकेन।

त्यसबारेमा बैठकमा ध्यानाकर्षण भएको छ। तर, आधिकारिकरूपमा केही नआएकोले अहिले निर्णय नगरेकाे प्याकुरेलकाे भनाइ छ। तथ्य बुझेर छलफल अगाडि बढाइने उनले बताए।

यस्तै आईसीसी प्रतिनिधिले चाँडै नेपालमा भ्रमण गर्ने उनले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्