सन्दीप छनोट भएको ‘दी हन्ड्रेड बल’ क्रिकेट कसरी खेलिन्छ?

काठमाडौं। नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने अहिलेसम्मकै सबैभन्दा धेरै रकममा विदेशी लिगमा आबद्ध भएका छन्।

बेलायत तथा वेल्स क्रिकेट बोर्ड (इसीबी)ले पहिलो पटक आयोजना गर्न लागेको 'दी हन्ड्रेड बल' क्रिकेट सय बलको क्रिकेटमा सन्दीप कीर्तिमानी रकममा छनोट भएका हुन्, जहाँ उनले नेपाली रकम एक करोडभन्दा बढी पाउनेछन्।

सन्दीपले पाउने रकम भनेकाे विश्वका चर्चित खेलाडीले पाउने सरहकाे हाे।

यस प्रतियोगिताका लागि छनोट हुने सन्दीप एक मात्र नेपाली खेलाडी हुन्।

सन्दीप बेलायती पाउण्ड एक लाख अर्थात् नेपाली रकम एक करोड ४६ लाख रूपैयाँमा अनुबन्ध भएका छन्।

सन्दीपलाई ओभल इन्भिन्सिबल्सले लिएको हो। गएराति भएको ड्राफ्टमा ओभलले दोस्रो चरणणमा सन्दीप र साम बिलिङ्सलाई लिएको थियो।

साम कुरान, ज्यासन रोए र टम कुरान ‘लोकल आइकन’ को रूपमा रहेको ओभलले पहिलो चरणमा वेष्ट इन्डिजमा स्पीनर सुनिल नारिनलाई लिएको थियो।

नारिन र सन्दीपसँगै वेष्ट इन्डिजका अर्का खेलाडी फाबियन एलेन विदेशी खेलाडीको रूपमा ओभलको टीममा छन्।

एउटा टीमले तीन मात्र विदेशी खेलाडी राख्न पाउनेछ।

कहिले हुन्छ १०० बल क्रिकेट प्रतियाेगिता?

इसीबीले पहिलोपटक आयोजना गर्न लागेको यस प्रतियोगिता १७ जुलाईदेखि १६ अगष्ट २०२० मा आयोजना हुनेछ।

यसमा कूल आठ टीमले प्रतिस्पर्धा गर्नेछ। लिगमा कूल ३२ खेल हुनेछ।

बर्मिंघम फोनिक्ससँगै लण्डन स्प्रीट, म्यान्चेस्टर ओरिजिनल्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिन्सिबल्स, साउदर्न ब्रेभ्स, ट्रेन्ट रकेट्स र वेल्स फायरले प्रतिस्पर्धा गर्नेछन्।

के हो १०० बल क्रिकेट?

अहिले हुँदै आएको अन्य फर्म्याटको क्रिकेटभन्दा यसको स्वरुप अलि फरक छ।

एक दिवसीय खेलमा ५० ओभर हुन्छ भने टी-२० मा २० ओभरको खेल हुन्छ।

यस्तै पछिल्लो समय चर्चामा रहेको १० ओभरको खेलमा १०-१० ओभर खेल हुन्छ।

सबैमा ६ बलको एक ओभर हुन्छ। तर, १०० बल क्रिकेट भने यो सबैभन्दा फरक छ।

नाम नै यसको १०० बल क्रिकेट छ। त्यसैले यसमा ओभर नभई बल भनेर गणना गरिनेछ।

कस्तो हुनेछ १०० बल क्रिकेट खेल?

यस क्रिकेटमा एक इनिङमा १०० बलको खेल हुनेछ।

यसमा १० बलपछि 'बलिङ एन्ड' परिवर्तन हुन्छ।

एक बलरले एकपटकमा लगातार ५ वा १० बल गर्न सक्नेछन्।

५ बल मात्र बलिङ गरेमा अर्को बलरले त्यही एन्डबाट अर्को ५ बल बलिङ गर्नुपर्छ।

अन्य फर्म्याटमा बलरसँगै एन्ड परिवर्तन हुने भए पनि १०० बल क्रिकेटमा भने बलर परिवर्तन हुँदा पनि एन्ड परिवर्तन नहुन सक्छ।

एउटा बलरले बढीमा २० बल बलिङ गर्न पाउनेछ। यो सबै निर्णय कप्तानले नै गर्नेछन्।

यसमा २५ बलको पावर प्ले हुन्छ।

पावरप्लेमा बलिङ गर्ने टीमका दुईजना मात्र फिल्डर ३० यार्डको घेराबाहिर बस्न पाउनेछन्।

यस्तै स्ट्राटेजिक टाइम आउट एकपटकमा ३० सेकेण्डको मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस्