भारत एक इनिङ्स र २०२ रनले विजयी, तीन खेलको सिरिज ‘क्लिन क्वीप’

काठमाडौं। भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट एक इनिङ्स र २०२ रनले जितेको छ। यस जितपछि भारतले तीन खेलको सिरिज क्लिन स्वीप गरेको छ।

भारतले यसअघिका दुवै टेष्ट जितेको थियो।

राचीमा भएको तेस्रो टेष्टको चौथो दिन डेब्युटान्ट स्पीनर शहबाज नदिमले लगातार दुई बलमा २ विकेट लिएपछि भारतले जित हात पारेको हो। दक्षिण अफ्रिकाले १३२-८ बाट दिनको खेल शुरु गरेको थियो।

थेउयनिस डे ब्रुन (३०) र एनरिच नोर्तेज (५) ले दिनको खेल अगाडि बढाएका थिए। तर, नदिमले ब्रुनलाई विकेटकिपर ऋद्दिमन शाहबाट क्याचआउट गराए। लगत्तै लुंगी एनगिदीलाई नदिमले आफ्नै बलमा क्याच आउट गरेपछि दक्षिण अफ्रिका १३३ रनमै अलआउट भयो र भारत इनिङ्स र २०२ रन अन्तरले विजयी भयो।

भारतले पहिलो इनिङ्समै ४९७ रन बनाउदै डिक्लेर गरेको थियो। दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा १६२ रन मात्र बनाएपछि फलो अनमा परेको थियो।

दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाका लागि कुनै पनि खेलाडीले ३० रन भन्दा बढी व्यक्तिगत स्कोर गर्न सकेनन्। दक्षिण अफ्रिकालाई अलआउट गर्न भारतका मोहम्मद शामीले ३, उमेश यादव र नदिमले २ विकेट लिए भने रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले १-१ विकेट लिए।

जेएससीएस इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले पहिलो इनिङ्समा दोहोरो शतक प्रहार गरेका थिए। २१२ रन बनाएका उनी खेलको म्यान अफ दी म्याच घोषित भए।

यस्तै तीन वटै टेष्टमा उत्कृष्ट प्रदर्शन गरेका रोहित म्यान अफ दी सिरिज घोषित भए।

भारतले पहिलो टेष्ट २०३ रनले जितेको थियो भने दवस्रो टेष्ट एक इनिङ्स र १३७ रनले जितेको थियो।

सिरिज क्लिन स्वीप गरेको भारतले वर्ल्ड टेष्ट च्याम्पियनसिपमा कूल २४० अंक जोडेको छ। दोस्रो स्थानमा रहेको न्यूजिल्याण्डको ६० अंक छ।

प्रतिक्रिया दिनुहोस्