डब्लुसिएल: रुविनाको अलराउण्ड प्रदर्शनमा विराटनगरलाई हराउँदै काठमाडौं फाइनलमा

काठमाडौं। कप्तान रुविना क्षेत्रीले अलराउण्ड प्रदर्शन गरेपछि क्याट क्वीन्स काठमाडौं विराटनगर टाइटन्सलाई पराजित गर्दै वुमन च्याम्पियन्स लिग टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

आज भएको एलिमिनेटरमा काठमाडौंले विराटनगरलाई ९ विकेटले पराजित गर्दै फाइनलमा चितवन राइनोजसँग भेट पक्का गरेको हो।

पाँच टीम सहभागि लिगमा लिग चरणको सबै चार खेल जित्दै चितवनले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ।

रुविनाले शानदार बलिङ गर्दै चार ओभरमा ४ रन खर्चेर ४ विकेट लिएपछि विराटनगर ६८ रनमा अलआउट भएको थियो।

रुविनाले नटआउट ३४ रन बनाएपछि काठमाडौंले ६९ रनको लक्ष्य ९.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो। रुविनाले ३० बल खेल्दै ६ चौका समेत प्रहार गरिन्। रुविनाले दोस्रो विकेटका लागि अप्सरी बेगमसँग नटआउट ७० रनको साझेदारी गरिन्।

पहिलो बलमै रोमा थापा (०) लाई गुमाएपछि क्रिजमा पुगेको अप्सरी र रुविनाले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाएका हुन्। अप्सरीले २८ बल खेल्दै ३ चौकाको मद्दतमा नटबउट २७ रन जोडिन्।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर रुविना क्षेत्रीको घातक बलिङ सामु टिक्न सकेन र १७.३ ओभरमा ६८ रनमै अलआउट भयो।

विराटनगरले राम्रो शुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन। विराटनगरकी ओपनर सोनु खड्का र ज्योती पाण्डेले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेपनि त्यसपछि २४ रन थप्दा सबै १० विकेट गुमायो।

विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन बनाइन्। उनले २५ बल खेल्दै ६ चौका प्रहार गरिन्।

यस्तै ज्योती पाण्डेले १२ र आरती विडारीले ११ रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

काठमाडौंकी रुविनाले ४ ओभरमा १ ओभर मेडन राख्दै ४ रनमात्रै खर्चिएर ४ विकेट लिइन्। यस्तै लक्ष्मी साउद, इश्वरी विष्ट र संगीता राईले १-१ विकेट लिए।

लिगमा एकै खेलमा ४ विकेट लिने रुविना दोस्रो बलर बनिन्। यसअघि पोखरा पल्टनकी अनुराधा चौधरीले ४ विकेट लिएकी थिइन्।

लिगको उद्घाटन खेलमै चितवनसँग पराजित भएको काठमाडौंले त्यसयता लगातार ४ खेल जितेर फाइनलमा स्थान बनाएको हो।

अब उपाधिका लागि ७ कात्तिकमा काठमाडौंले चितवनसँगै खेल्नेछ।

क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा भइरहेको प्रतियोगितामा काठमाडौं र चितवनसँगै विराटनगर, ललितपुर फाल्कोन्स, पोखरा पल्टनले प्रतिस्पर्धा गरेका थिए।

लिगको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्