साफ यू-१८ च्याम्पियनसिप : भुटानको चार गोलमा अडेको नेपालको भाग्य

काठमाडौं। तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत आज समूह ए को अन्तिम खेलमा भुटान र माल्दिभ्स भिड्दै छन्।

हलचोकस्थित एपीएफ मैदानमा हुने यी दुई टिमबीचको खेलको चासो कसैलाई छ भने त्यो नेपाललाई छ। नेपालले भुटान र माल्दिभ्ससँग खेलिसकेको छ।

च्याम्पियनसिपअघि सहजै सेमिफाइनल पुग्ने लक्ष्य राखेको नेपाल अहिले समूह चरणबाटै बाहिरिने खतरामा छ। माल्दिभ्ससँग १-१ को बराबरी र भुटानसँगको ३-० को हारपछि नेपालको १ अंक मात्र छ ।

भुटान भने एक खेल जित्दै सेमिफाइनल पुगिसकेको छ। त्यसैले समूह ए बाट सेमिफाइनल पुग्ने दोस्रो टिमको टुङ्गो आज लाग्नेछ।

माल्दिभ्स भुटानलाई पारजित गरे वा बराबरी खेले पनि सेमिफाइनल पुग्नेछ । यस्तो नतिजा आए नेपाल घरेलु मैदानमै भएको च्याम्पियनसिपबाट बाहिरिनेछ। नेपालको भाग्य अब भुटानको हातमा छ। यदी भुटानले माल्दिभ्सलाई ४-० अन्तरले पराजित गरेमा मात्र नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ।

नेपालको सम्भावना अझै बाँकी रहेपनि यो सजिलो भने छैन। भुटानले त्यो भन्दा थोरै गोलअन्तरमा पराजित गरेमा भने नेपाल बाहिरिनेछ।

सन् २०१५ मा नेपालबाट शुरु भएको यो च्याम्पियनसिप नेपालले दुई पटक जितेको थियो। घरेलु मैदानमा उपाधि जित्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य बनाएको नेपाललाई शुरुमै धक्‍का लागेको हो।

माल्दिभ्स र भुटानबीच आजको खेल दिउँसो ३ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्