सोमपालको आक्रामक ब्याटिङ, नेपालले जिम्बावेलाई दियो १३३ रनको लक्ष्य (अपडेट)

काठमाडौं। उपकप्तान दिपेन्द्र सिंह ऐरीको धैयर्तापूर्वक र सोमपाल कामीको आक्रमक ब्याटिङपछि ‘सिंगापुर ट्राई नेशन सिरिज टी–२०’ को पहिलो खेलमा नेपालले जिम्बावेलाई एक सय ३३ रनको लक्ष्य दिएको छ।

सिंगापुरस्थित इन्डियन एसोसिएसन ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेका नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३२ रन बनाएको हो।

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। उनले ३३ बल खेल्दै ५ चौका प्रहार गरे। सोमपाल कामीले नटआउट २५ रन जोडे। सोमपालले १४ बल खेल्दै तीन छक्का प्रहार गरे।

राष्ट्रिय टिममा परेका दुई नयाँ खेलाडी इशान पाण्डे र कुशल मल्ले पहिलो खेलमै डेब्यु गरेपनि सुखद शुरुवात गर्न सकेनन्। दुवैले दोहोरो अंकमा रन छुन सकेनन्।

कप्तान पारस खड्काले २२ बलमा १८ र सन्दिप जोराले १५ बलमा १७ रन जोडे।

कप्तान पारससँगै ओपनिङ गरेका इशानले ८ बल खेल्दै ४ रन बनाए। उनले शुरूमै एक चौका प्रहार गरेका थिए। कुशल २ रन बनाएर आउट भए। यस्तै आरिफ शेख ८ रन बनाएर आउट भए।

विनोद भण्डारीले १२ बल खेल्दै एक चौकाको मद्दतमा नटआउट ११ रन बनाए। सातौँ विकेटका लागि विनोद र सोमपालले ३७ रनको साझेदारी गरे।

जिम्बावेका कप्तान सिन विलियमले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।

काठमाडौं। सिंगापुरमा आजदेखि शुरू भएको सिंगापुर ट्राई नेशन टी–२० सिरिजको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस जितेर ब्याटिङ गरेको छ।

इन्डियन एसोसिएसन ग्राउण्डमा भइरहेको खेलमा नेपालका लागि दुई खेलाडीले सिनियर टोलीमा डेब्यू गरेका छन्।

पहिलो पटक राष्ट्रिय टिममा परेका इशान पाण्डे र कुशल मल्ल दुवैले टी–२० मा डेब्यु गरेका हुन्। रोहितकुमार पौडेल, सुशन भारी, ललित नारायण राजवंशी र पवन सर्राफ भने टिममा परेका छैनन्।

कप्तान पारस खड्कासँगै ओपनिङ गरेका इशान पाण्डे ४ रन बनाएर आउट भए। ८ बल खेलेका उनले एक चौका प्रहार गरे।

प्रतिक्रिया दिनुहोस्