आईसीसीद्वारा क्यान निर्वाचनको स्वागत
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को विशेष केन्द्रीय निर्वाचनलाई स्वागत गरेको छ।
आईसीसीकै रोडम्यापअनुसार १० असाेजमा काठमाडौंमा निर्वाचन भएको थियो। त्यसबाट क्यानले नयाँ नेतृत्व पाएको छ।
निर्वाचनमा चतुरबहादुर चन्द नेतृत्वको प्यानल विजयी भएको थियो। २०७२ मंसीरमा भएको निर्वाचनमा पनि चन्द निर्वाचित भएका थिए, तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उक्त निर्वाचनलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेपछि राजनीतिक हस्तक्षेप भएको भन्दै २०७३ वैशाखमा आईसीसीले क्यानलाई निलम्बन गरेको थियो।
आईसीसीले आज विज्ञप्ति जारी गर्दै हालै भएको निर्वाचनको स्वागत गरेको हो। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेको चुनावी साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा आईसीसीले खुसी पनि व्यक्त गरेको छ।
आईसीसीले बनाएको स्वतन्त्र कमिटीले निर्वाचन सम्पन्न गरेको हो। उक्त कमिटीमा आईसीसीबाट अम्मिर शेख, मोहम्मद अली र नितिशा कोठारी थिए भने युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट ठाकुरप्रताप थापा र राखेपको तर्फबाट लेखबहादुर क्षेत्री थिए।
आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले पछिल्लो तीन वर्ष नेपाल निलम्बनमा रहे पनि नेपालको पुरुष टीमले अन्तर्राष्ट्रियस्तरमा खेलिरहेको र पहिलो पटक ओडीआई मान्यता पाएको जनाएका छन्।
यस्तै उनले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकाे कुरालाई 'ऐतिहासिक क्षण' भन्दै यसका लागि नेपाल सरकार, क्यान, राखेप सबैलाई धन्यवाद दिएका छन्। पछिल्लो तीन वर्षमा नेपाली क्रिकेट टीमले ठूलो उपलब्धि हासिल गरेको पनि उनले चर्चा गरेका छन्। उनले नेपाली क्रिकेट टीमले एक दिवसीय मान्यता पाएको, महिला क्रिकेट टीमले पनि आईसीसी क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्