रोनाल्डोको ६९९औं गोल, १० वर्षपछि इंग्ल्याण्ड पराजित
काठमाडौं। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले करियरको ६९९ औं गोल गरेका छन्।

युरो २०२० छनोट अन्तर्गत लक्जेमवर्ग विरुद्धको खेलमा गोल गरेपछि रोनाल्डो ७००औं गोलनजिक पुगेका छन्। पोर्चुगलले लक्जेमवर्गलाई ३-० ले पराजित गर्दा रोनाल्डोले एक गोल गरेका थिए।

यस्तै बर्नार्डो शिल्भा र गोन्सालो गुएडेसले पनि एक-एक गोल गरे। पोर्चुगलका लागि भने रोनाल्डोको यो ९४औं गोल हो। जितपछि समूह बी मा पोर्चुगल ५ खेलबाट ११ अंकसहित दोस्रो स्थानमा छ। ६ खेलबाट १६ अंक जोडेको युक्रेन शीर्ष स्थानमा छ।

इंग्ल्याण्ड भने युरो छनोटमा १० वर्षयता पहिलो पटक पराजित भएको छ। इंग्ल्याण्डलाई चेक रिपब्लिकले एक गोलले पछि परेको स्थिती उल्टाउँदै २-१ ले पराजित गरेको हो।

चेकको प्रागमा भएको खेलमा खेलको पाँचौ मिनेटमै ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। तर, त्यसको चार मिनेटपछि नै ज्याकुब ब्राबेकले चेकको लागि बराबरी गोल फर्काए। खेल सकिन पाँच मिनेट अगाडि जेडेक ओन्ड्रासेकले गोल गर्दै चेकको जित पक्का गरे।

यो हारपछि युरो छनोटमा इंग्ल्याण्डको ४३ खेलको अपराजित यात्रा समाप्त भएको छ। अझैपनि २०२० को युरो छनोट अन्तर्गत समूह ए मा इंग्ल्याण्ड पाँच खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ।

समान अंक जोडेको चेक दोस्रो स्थानमा छ। विश्व विजेता फ्रान्स र टर्कीले समूह एचमा साँघुरो जित हात पारेको छ।

फ्रान्सले आइसल्याण्डलाई तथा टर्कीले अल्वानियालाई समान १-० ले हराएको छ। फ्रान्सको जितमा ६१औं मिनेटमा ओलिभर जिरुडले गोल गरे।

टर्कीका लागि ९०औं मिनेटमा सेन्क टाउसनले गोल गरे। जितपछि दुवै टोलीको समान १८ अंक भएको छ। अंकतालिकामा टर्की शीर्ष स्थानमा छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्