टी २० विश्वकप: ग्लोबल क्वालिफायरको ट्रफी सार्वजनिक

काठमाडौं। सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप क्रिकेटको लागि युएईमा हुने ग्लोबल क्‍वालिफायरको विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ। यस पटक नेपाल भने क्‍वालिफायरमा सहभागी छैन।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २४ असोज राति युएईको अबुधाबीमा ट्रफी सार्वजनिक गरेको हो।

१८ अक्टुबरदेखि ३ नोभेम्वरसम्म हुने क्‍वालिफायरमा प्रतिस्पर्धा गर्ने १४ देशका कप्तान ट्रफी सार्वजनिक कार्यक्रममा उपस्थिति थिए।

यस क्‍वालिफायरबाट शीर्ष ६ राष्ट्रले अष्ट्रलियाको टिकट काट्नेछ। तर, गत जुलाईमा सिंगापुरमा भएको एसियन रिजनल फाइनल क्‍वालिफायरमा तेस्रो भएपछि नेपाल ग्लोबल क्वालिफायरमा छनोट भएन।

राउण्ड रोबिनको आधारमा हुने क्‍वालिफायरमा स्कटल्याण्ड, नेदरल्याण्ड्स, पपुवा न्युगिनी, सिंगापुर, नामिबिया, केन्या, बर्मुडा, युएई, आयरल्याण्ड, ओमन, हङकङ, क्यानडा, जर्सी र नाइजेरिया छन्।

छनोटको उद्घाटन खेल १८ अक्टोबरमा स्कटल्याण्ड र सिंगापुरबीच दुबईस्थित आइसीसी एकेडेमी मैदानमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्