पीपीएलको तयारी शुरु

काठमाडौं। चाडपर्वको मौसम छ तर, खेलकुदमा क्रिकेटको माहोल चलिरहेको छ।

नेपालको राष्ट्रिय क्रिकेट टीम अन्तर्राष्ट्रिय टूर र सिरिजमा व्यस्त छ।

अब केही समयपछि घरेलु क्रिकेट पनि शुरु हुँदैछ।

पछिल्लो चार महिनामा नेपालको सिनियर क्रिकेट टीमले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो। अब डिसेम्बर पहिलो साता नेपालमै १३औं दक्षिण एसियाली खेलकुद साग हुँदैछ र त्यसैको तयारीमा अब क्रिकेट टोली पनि व्यस्त हुनेछन्।

नेपालीहरूको महान चाड बडा दशैं सकिनै लागेको छ। अब तिहार आउन दुई साता बाँकी छ।

उता पर्यटकीय नगरी पोखरामा एक महिनापछि शुरु हुने फ्रेन्चाइज्ड क्रिकेट लिगको तयारी शुरु भएको छ।

क्वीन्स इभेन्ट म्यानेजमेन्टले गत वर्षदेखि आयोजना गर्दै आएकाे पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको दोस्रो संस्करण १२-२३ नोभेम्बरमा हुँदैछ। उक्त लिगका लागि अहिले पोखरा रंगशालास्थित क्रिकेट मैदान तयार पार्ने काम शुरु भएको छ।

आयोजक क्वीन्स इभेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले लिगको तयारी शुरु भइसकेको जानकारी दिए। “यस पटक केही नयाँ गर्ने सोच छ,” लामाले देखापढीसँग भने।

तालैतालको शहर पोखरामा हिमालको अगाडि क्रिकेट खेलिरहेको दृश्यले गत वर्ष सबैको ध्यान तानेको थियो।

भिजिट नेपाल २०२० नजिकिँदै गरेकाले पोखरामा क्रिकेट आयोजना गरेर खेल पर्यटनमार्फत् विश्वसामु सकारात्मक सन्देश फैलाउन सहज हुने लामाले बताए।

पहिलो संस्करण दशैं र तिहारको बीचमा आयोजना भएको थियो। यस पटक नेपालको राष्ट्रिय टीम विदेशमा खेल्न व्यस्त भएकाले आयोजकले मिति तिहारपछि सारेको हो।

पहिलो संस्करणमा ६ फ्रेन्चाइज टीमले प्रतिस्पर्धा गरेको थियो, जहाँ घरेलु टोली पोखरा पल्टनले चितवन राइनोजलाई पराजित गर्दै उपाधि जितेको थियो।

गत वर्ष खेलेकै टीमले यस पटक पनि प्रतिस्पर्धा गर्नेछन्। पोखरा पल्टन र चितवन राइनोजसँगै काठमाडौं रोयल्स, बुटवल ब्लास्टर्स, धनगढी ब्लूज र विराटनगर टाइटन्सले गत वर्ष प्रतिस्पर्धा गरेका थिए।

यस्तै टीमले आफ्नो खेलाडीलाई 'रिटर्न' गर्न पाउने भएको छ। लामाका अनुसार प्रत्येक टीमले बढीमा तीन खेलाडीसम्म रिलिज गर्न पाउनेछन्।

पहिलो संस्करणमा ६ वटै टीमले २-२ विदेशी खेलाडीसमेत राखेका थिए।

क्वीन्स इभेनट्सले यस पटक दशैं र तिहारको बीचमा महिलाको फ्रेन्चाइज्ड टी-२० लिग आयोजना गर्दैछ।

पहिलो पटक हुने लागेको वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी-२० क्रिकेट यही १६ अक्टोबरदेखि काठमाडौंको कीर्तिपुरस्थित टीयू मैदानमा शुरु हुनेछ, जसमा क्याट क्वीन काठमाडौं, ललितपुर फाल्कन, चितवन राइनोज, पोखरा पल्टन र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्